क्यान्सरसँग जुधिरहेकी जिवछीलाई साउदीमा रहेका छोरा भेट्ने धोको

 अपरिचित व्यक्ति घरमा आएको देखेर उनले विलाप गर्न थालिन्, ‘केहुना हमरा बेटाके आइनदा हौ । हमरा बेटाके मुह देखके अन्तिम इच्छा हे ।’

२१ पुस, जनकपुरधाम । ‘केनाहु हमरा कृष्ण बेटाके आइनदा हौ । हमरा बेटाके मुह देखके अन्तिम इच्छा हे’ (मेरो छोरालाई जसरी पनि ल्याइदिनुस् । मलाई छोराको मुख हेर्ने अन्तिम इच्छा छ) जिवछी देवी विलाप गर्छिन् ।
एक वर्षदेखि क्यान्सर रोगले थलिएकी धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजकी ७१ वर्षीया यादवको अन्तिम श्वास चलिरहेको छ ।
बिहीबार दिउँसो उनको घर पुग्दा आँगनमा लगाइएको ओछ्यानमा उनी आराम गरिरहेकी थिइन् । उनी बेलाबेला कोल्टो पर्ने र छटपटाउँदै खोकिरहन्थिन् । घरीघरी घाँटी सुक्यो भनेर पानी माग्थिन् । ओछ्यानमै रेखदेखमा बसेका ७५ वर्षीया उनका श्रीमान् बिल्टु छेउमा रहेको बोतलबाट पानी खुवाउँथे ।
अपरिचित व्यक्ति घरमा आएको देखेर उनले विलाप गर्न थालिन्, ‘केहुना हमरा बेटाके आइनदा हौ । हमरा बेटाके मुह देखके अन्तिम इच्छा हे ।’जीवनको अन्तिम अवस्थामा उनका दुई छोरा कृष्ण र अरुणमध्ये एकजना पनि साथमा छैनन् । अहिले उनी जेठी छोरी प्रमिलाको घरमा बस्छिन् । क्यान्सर रोगले थलिएपछि घरमा छोराहरू नहुँदा जिवछी ६ महिनादेखि छोरी प्रमिलाको घरमा बसिरहेकी हुन् ।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । सम्पत्तिको नाममा १३ धुरमा रहेको एउटा घरबाहेक केही छैन । जिवछीका दुवै छोरा विदेशमा छन् । जेठो कृष्ण परिवारको उज्वल भविष्य खोज्दै दोस्रो पटक ७ वर्षअघि वैदेशिक रोजागरीमा साउदी गएका हुन् । छुट्टिएर बसेका कान्छो छोरा अरुण एकवर्षअघि दुबई पुगे ।
बुबा बिल्टुकाअनुसार जेठो छोरा साउदीको अब्दुल रहमान अबदुल्लाह कम्पनीमा कार्यररत थिए । कृष्णसँग सवारीचालक लाइसेन्स पनि थिएन । तर, कम्पनीका साहुले सवारी चलाउन कर गर्थे । चलाउँदा प्रहरीले काटेको फाइन तिर्ने विषयमा विवाद हुँदा कृष्ण कम्पनी छाडेर भागे । त्यही विवादलाई लिएर साहुले उनीमाथि अदालतमा मुद्दा दायर गरेका छन् ।
यही बीचमा कृष्णलाई हृदयघात भएको खबर परिवार समक्ष आइपुगेको छ । उनी अहिले साउदीकै एक अस्पतालको आईसीयू बेडमा उपचाररत रहेको उनका साथीले जानकारी दिएको बुबा बिल्टु बताउँछन् । तर, अहिलेसम्म पुष्टि भने भएको छैन ।
‘एक हप्ता जति भयो, हृदयघातका कारण कृष्णलाई अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको खबर उनका साथीहरूले हामीलाई गराएका छन्’ बिल्टुले पीडा सुनाए, ‘यता आमा अन्तिम अवस्थामा छिन् । उता छोरा आईसीयूमा । आफूसँग एक पैसा छैन । म बुढो मान्छेले के गर्न सक्छु र ?’
कृष्णका एक छोरा र ५ छोरीसहित पाँच सन्तान छन् । जेठी छोरी कविताको बिहे भइसकेको छ । छोरा १७ वर्षीय विनोद, छोरीहरू १५ वर्षीया सविता, १३ वर्षीया सरिता र ११ वर्षीया बबिता छन् । विदेशमा कृष्ण आफैं समस्यमा परेपछि उनकी श्रीमती सीताले मजदुरी गरेर घरपरिवार चलाइ रहेकीछन् ।
‘बिल्टुका कान्छो छोरा अरुण बेग्लै बसेका छन् । जोठो छोरा विदेशमा कम्पनीसँगको लफडामा फसेपछि ६ वर्षदेखि पैसा आउन छाड्यो । बुहारीले नै मजदुरी गरेर घरपरिवार चलाइरहेकी छन्,’ बिल्टु दुःखेसो पोखे ।
बिल्टुका अनुसार विदेश गएको एक वर्षसम्म कृष्णले राम्रैसँग काम गरे । घरमा पैसा पनि पठाए । जसले उनी विदेश जाँदा लिएको ऋण तिरे । घरपरिवार चल्यो ।
कामकै विषयमा कम्पनीका मालिकसँग त्यहाँ कार्यर १७ जना मजदुरबीच विवाद भयो । १४ जना भारतीय थिए भने कृष्णसहित तीन जना नेपाली । विवादपछि भारतीय र अन्य दुई नेपाली त्यहाँबाट घर फर्के ।
कृष्णविरुद्ध कम्पनीले हानिनोक्सानी मुद्दा कोर्टमा दायर गर्‍यो । विवादपछि कृष्ण भागेर अन्यत्र भौंतारिएर काम गर्न थाले । अदालतले २२ हजार साउदी रिअल जरिबानाको फैसला सुनायो ।
कृष्णका भान्जा सुजितका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएपछि सुनुवाइ भयो । बकरिदमा साहु पक्षले ११ हजार रुपैया तिरेर मिलापत्र गर्ने आश्वासन दियो ।
उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो । यता घरमा खानै लाउनै मुस्किल छ । गाउँघरको साहुमहाजनबाट जिवछीकै उपचारका लागि बिल्टुले ७ लाख रुपैयाँजति ऋण काढिसकेका छन् । सम्पत्तिको नाममा अन्य केही नहुँदा छोरालाई कसरी जरिबाना तिरेर ल्याउने भन्ने कुराले बिल्टुलाई बेचैन बनाएको छ । झन् अहिले छोरा अन्तिम आईसीयूमा उपचाररत छन् भन्ने सुनेर बिल्टुसहित घरपरिवार पीडामा छन् ।
छोरालाई ल्याउन ५ महिनादेखि बिल्टुले प्रयास थालेका छन् । स्थानीय सरकारदेखि गाउँ समाज सबैलाई गुहार लगाएका छन् । तर, उनले पाउने गरेको आर्थिक सहयोग न्यून छ । बाहिर आर्थिक सहयोग माग्न जाँदा सय पचास रुपैयाँ सहयोग पाउने गरेको उनी सुनाउँछन् । यसले उनको आत्मबल टुटेको छ । तर, उनले हिम्मत भने हारेका छैनन् ।
छोराको उद्धारका लागि गाउँ टोलबाट २२ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको उनी सुनाउँछन् ।
बिल्टुका अनुसार मिथिला नगरपालिकाबाट ५० हजार रुपैयाँ र वडा कार्यालयले १५ हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उनले सबै पक्षलाई आर्थिक सहयोग गरिदिन हारगुहार गरिरहेका छन् ।
छोरा कृष्णलाई साउदीबाट उद्धार गरी ल्याउन आर्थिक सहयोग  गरिदिन उनी सबैसँग हारगुहार गर्दै हिंडिरहेका छन् । कृष्णलाई एकपटक हेरेर मर्ने जिवछीको अन्तिम धोको पूरा गर्न आफू लागि परेको उनी सुनाउँछन् ।
संविधानसभा सदस्य तथा पूर्वमन्त्री शत्रुधन महतो कृष्णलाई ल्याउन पहल गरिरहेको बताउँछन् ।
‘दूतावाससँग कुरा गरेर उनलाई फर्काउने प्रयासमा लागेको छु । तर, स्वास्थ्य बिग्रेर आईसीयूमा उपचाररत छ भन्ने खबर पाएको छु । उनको अवस्था नाजुक छ भन्ने सुनेको छु । तर, पुष्टि भएको छैन । मैले आफ्नो तर्फबाट प्रयास गरिरहेको छु । घरको अवस्था पनि नाजुक छ । सबैले सहयोग गर्नुपर्छ,’ उनले भने ।


Post a Comment

Previous Post Next Post